Posted on March 15, 2022
काठमाडौं । नेपालमा अहिले हाउजिङ तथा अपार्टमेन्टको खरीदविक्री गर्न डेभलपरहरूले छुट्टै सेल्स तथा मार्केटिङ टिम खडा गर्नुपर्छ ।
तर अव भने डेभलपरहरूले व्यवसायीक रियल इस्टेट एजेन्टहरूसँग सहकार्य गरेर आफ्नो प्रोपर्टी बेच्ने गरी नेपालमै नौलो अभ्यास शुरू हुने भएको छ ।
नेपालको घरजग्गा क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ भन्दै ३ दशकदेखि सक्रिय ओम राजभण्डारीको कम्पनी बृहत इन्भेष्टमेन्ट प्रालि र घरजग्गा क्षेत्रलाई व्यवस्थित र व्यवसायीक बनाउनुपर्छ भन्दै ४ वर्ष अघि स्थापना भएको नेपाल रियल इस्टेट अर्गनाइजेशन (एनरियो) बीचको समझदारीबाट नेपालमै नौलो अभ्यासको शुरूवात गरिएको हो ।
बृहत इन्भेष्टमेन्टका अध्यक्ष ओम राजभण्डारी र एनरियोका अध्यक्ष नरेश सिंहले समझदारीपत्र आदानप्रदान गरेका छन् ।
राजभण्डारीले घरजग्गा क्षेत्रलाई व्यवस्थित बनाउन निजी स्तरबाट गरेको यो पहिलो प्रयास भने होइन । नेपालमा आधुनिक हाउजिङ र अपार्टमेन्ट कल्चर भित्र्याउने राजभण्डारीले यो भन्दा अघि नेपाल जग्गा तथा आवास विकास संघमार्फत सरकार र निजी क्षेत्रलाई नीतिनिर्माणमा थुप्रै सुझाव दिएका छन् ।
घरजग्गा क्षेत्रको अध्ययनका लागि नेपालका विश्वविद्यालयमा पाठ्यक्रम नै नभएको बेला राजभण्डारीको कम्पनी बृहत इन्भेष्टमेन्टले घरजग्गा क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाहरूलाई लक्षित गरी रेमा ट्रेनिङ पनि दिदै आएका छन् । यसबाट धेरै रियल इस्टेट एजेन्टहरूले लाभ पनि लिइसकेका छन् ।
के हो रेमा तालिम ?
आफ्नो तर्फबाट गर्न सकिने कामको लागि सरकारको मुख नताक्ने राजभण्डारीले आफ्नो कम्पनीमार्फत सन २००९ देखि घरजग्गा व्यवसायी तथा ब्रोकरको काम गर्नेहरूलाई लक्षित गरी रियल इस्टेट मार्केटिङ एजेन्ट (रेमा) ट्रेनिङ शुरू गरेका थिए ।
देश-विदेशमा घरजग्गा क्षेत्रको अनुभव बोकेका राजभण्डारीको कम्पनीले शुरु गरेको रेमामार्फत १७ पटक यस्तो ट्रेनिङ दिइएको छ । यसबाट २१८ जनाले तालिम पाएका छन् । ३ दिनको उक्त तालिममा घरजग्गासँग सम्बन्धित सैद्धान्तिक र प्राविधिक कुराको ज्ञान दिइन्छ । फिल्डमा घरजग्गा कसरी हेर्ने भन्ने कुरा पनि सिकाइने रेमाको भनाइ छ ।
अहिले रेमाबाट ट्रेनिङ लिएका र देश-विदेशमा घरजग्गाको अध्ययन गरेका युवाहरूको समूह मिलेर स्थापना गरेको एनरियो र बृहतलेले नेपालमै नौलो अभ्यास शुरू गरेका हुन् ।
ब्रोकरलाई करको दायरामा ल्याउन माग गर्ने एनरियो
घरजग्गा क्षेत्रमा रहेका बेथितिहरू हटाउँदै कारोबारलाई व्यवस्थित र व्यवसायीक बनाएर, करको दायरामा ल्याउनुपर्छ भन्ने उदेश्यसहित स्थापना भएको गैर नाफामुलक संस्था हो एनरियो । यो संस्थामा अहिले प्रविधि मैत्री र अध्ययन/अनुसन्धान गर्ने युवाहरूको बर्चस्व छ ।
एनरियोले शेयर बजार जस्तै घरजग्गालाई पनि मल्टी लिस्टिङ सिस्टम (एमएलएस) बनाएर कारोबार गर्न सकिन्छ भन्दै प्रणाली नै विकास गरेको छ ।
भूमि सुधार मन्त्रालयमा रियल इस्टेट एजेन्ट र एजेन्सीहरूलाई अनुमतिपत्र दिएर घरजग्गा क्षेत्रलाई व्यवस्थित गर्न लविङ गर्दे आएको एनरियोले, राजस्व परामर्श समितिलाई रियल स्टेट एजेन्सीहरूलाई करको दायरामा ल्याउन सकिन्छ भन्दै नेपाल इन्स्टिच्युट फर अर्बन एन्ड रिजनल स्टडिज (नियर्स) सँगको सहकार्यमा अध्ययन प्रतिवेदन नै बुझाएको छ ।
सम्झौताले कसलाई कस्ता फाइदा ?
हाउजिङ अपार्टमेन्ट बनाउने कम्पनीहरूले उक्त प्रोपर्टी बेच्नको लागि सेल्स र मार्केटिङमा ठूलै रकम खर्च गर्दै आएका छन् ।
तर अव एजेन्सीहरूले विक्री गर्ने जिम्मा लिएपछि डेभलपरहरू विक्री गर्ने तनावबाट मुक्त भइ परियोजना निर्माणमा मात्रै केन्द्रित हुन सक्ने एनरियोका अध्यक्ष नरेश सिंहले बताए ।
उनीहरूले बजारीकरण गर्नको लागि चाहिने कर्मचारी खर्च र विज्ञापन खर्च बचाउन सक्ने छन् । यसले निर्माण कम्पनीको सेल्स र मार्केटिङ खर्च घट्दा त्यसको प्रतक्ष फाइदा खरीदकर्ताले पनि पाउने एनरियोका महासचिव विनोद सुवेदीले बताए ।
तर अव भने अन्य डेभलपर कम्पनीहरूले पनि यसै गरी व्यवसायीक ब्रोकरहरूसँग समझदारी गरेर काम गरेमा डेभलपर र व्यवसायीक ब्रोकरको दूरी घट्दै गइ घरजग्गा क्षेत्र थप व्यवस्थित र व्यवसायीक हुने एनरियोका सचिव हमिद खानले बताए ।
news source: abhiyandaily.comThe name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.
Read More© 2009-2025. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.